राष्ट्रिय लक्ष्यसँग जोडिएर काम गर्न मुख्यमन्त्री राईको आग्रह


विराटनगर, पुस २८
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय लक्ष्यसँग जोडिएर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । उहाँले जनताको आकांक्षालाई सम्बोधन हुने गरी काम गर्न समेत आग्रह गर्नुभयो । प्रदेश समन्वय परिषद्को तेस्रो बैठकलाई सोमबार विराटनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले तीनै तहका सरकारहरूले होसियारीका साथ काम गर्नुपर्ने बताउनु भएको छ ।

‘हाम्रो थोरै गल्तीमा पनि कोकोहोलो हुन्छ, यो प्रणाली मन नपराउनेहरू ढुकेर बसेका छन्, हाम्रो गल्छि कुरेर बसेका छन्’ उहाँले भन्नुभयो ‘हामीलाई आत्तिने वा मात्तिने, असक्षम वा नालायक बन्ने सुविधा छैन, त्यसको असर सिंगो संघीय प्रणालीमा पर्छ ।’ उहाँले संघीय प्रणालीलाई मन नपराउनेहरू व्यवस्थाकै विरूद्ध प्रहार गर्न ढुकेर बसेको समेत बताउनु भयो ।

प्रदेश १ का १४ वटै जिल्लाका अघिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी हुने समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले स्थानीय तहहरूले आफूहरूको कार्यशैली र तौरतरिकामा समीक्षा गर्नुपर्ने दिन आएकोले छलफल थाल्नुपर्ने बताउनुभयो ।

उनले स्थानीय तहहरू सञ्चालनका क्रममा थुप्रै बेथितिहरू देखिने गरेकोले जनताको आकांक्षा बमोजिम नयाँपन दिनका लागि आग्रह गरे । ‘जनप्रतिनिधिहरूका विरूद्ध अख्तियारमा चाङका चाङ उजुरी परिरहेका छन्’ मुख्यमन्त्रीले भने ‘एक पटक राम्ररी सच्चिनु पर्ने हो कि, मध्यावधि समीक्षा गर्नुपर्ने हो कि, यता ध्यानाकर्षण गराउँदछु ।’